दफा १७
मध्यकालीन खर्च संरचना तयार गर्नु पर्ने
(१) नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले दफा १६ बमोजिमको सार्वजनिक खर्चको विवरण तयार गर्दा आगामी तीन आर्थिक वर्षमा हुने खर्चको प्रक्षेपण सहितको मध्यकालीन खर्च संरचना तयार गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तयार गरिने मध्यकालीन खर्च संरचनामा देहायका विवरण खुलाउनु पर्नेछः–
(क)   प्रस्तावित योजनाको उद्देश्य,
(ख)   प्रस्तावित योजनाको लागि सम्भाव्यता अध्ययन गर्न वा खर्च छुट्याउन आवश्यकताको पुष्ट्याइँ,
(ग)  प्रस्तावित योजना कार्यान्वयन हुन सक्ने आर्थिक वर्ष र त्यसपछिका दुई आर्थिक वर्षमा प्राप्त हुन सक्ने प्रतिफल र उपलब्धि,
(घ)  प्रस्तावित योजना लागू गर्न आवश्यक पर्ने खर्चको विवरण,
(ङ)  खर्च व्यहोर्ने स्रोत र खर्च गरिएको रकमबाट प्राप्त हुन सक्ने प्रतिफल र उपलब्धिको प्रक्षेपण,
(च)  प्रस्तावित योजनाको मध्यम अवधिको खर्चको रणनीति र त्यसको वार्षिक खर्चसँगको तादाम्यता,
(छ)   सञ्चालित योजना भए गत आर्थिक वर्षमा छुट्याइएको खर्च अनुसार लक्ष्य हासिल भए नभएको यथार्थ विवरण ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश तथा स्थानीय तहले यो ऐन प्रारम्भ भएको मितिले तीन वर्षसम्म सोही उपदफा बमोजिमको मध्यकालीन खर्च संरचना आ—आफ्नो प्राथमिकता र आवश्यकताका आधारमा तयार गर्न सक्नेछन् ।